काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरुद्ध अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी हुन्।
झाको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ। भारतीय चलचित्रलाई काठमाडौँ महानगरका हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णयविरुद्ध पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश नमान्ने सार्वजनिक टिप्पणी गरेका थिए। भारतबाट प्रभावित भएर उक्त आदेश दिएको भन्दै उनले उक्त आदेशको आफूले पालना नगर्ने बताएका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकार र अदालत भारतको गुलाम भएको आरोपसमेत लगाएका थिए।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ बिहीबार अदालतले आदेश जारी गरेलगत्तै बालेनले फेसबुकमा स्टाटसले लेखेका थिए, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’
हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्चको आदेश, बालेन भन्छन्- म अदालतलाई मान्नेवाला छैन


