काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा बाढीपछि बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन्। उनले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले मन भक्कानिए पनि एकआपसमा विलाप गर्ने समय नभएको बताएका छन्।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन,’ उनले भने, ‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ।’
घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि के गर्दैछ, अहिले के गरिरहेको छ र अब के गर्नेछ भन्ने जानकारी संसद्मा गराए।
‘क्षणभरमै हामीबाट हाम्रा आमाबुवा, दिदीबहिनी र दाजुभाइहरु खोसेर लगे। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै संवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीडामा म गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु,’ उनले भने, ‘घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि के गर्दैछ, अहिले के गरिरहेको छ र अब के गर्नेछ भन्ने बारे जानकारी म सम्मानित सदनलाई दिन चाहन्छु।’