काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ओटीटी (ओभर–द–टप) डिजिटल प्रसारण अधिकारका लागि आयोजित बोलपत्र प्रक्रियामा नेटटीभी ओटीटी उच्चतम बोलपत्रदाता बनेको छ।
नेपाली क्रिकेटको प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता एनपीएललाई डिजिटल माध्यमबाट अझ व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यसहित प्रसारण अधिकारका लागि बोलपत्र प्रक्रिया सञ्चालन गरिएको थियो। उक्त प्रक्रियामा नेटटीभी ओटीटीले सबैभन्दा बढी रकमको बोलपत्र पेश गर्दै उच्चतम बोलपत्रदाता बन्न सफल भएको हो।
एनपीएलले पछिल्लो समय नेपाली क्रिकेटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। क्रिकेटप्रतिको बढ्दो आकर्षणसँगै डिजिटल माध्यमबाट खेलकुद सामग्री हेर्ने दर्शकको संख्या बढिरहेका बेला एनपीएल २०२६ को डिजिटल प्रसारणलाई पनि थप आधुनिक र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ।
नेटटीभी ओटीटीले नेपाली क्रिकेटको विकास र व्यावसायिक विस्तारमा योगदान पुर्याउने उद्देश्यसहित एनपीएल २०२६ को डिजिटल प्रसारणलाई प्रभावकारी र विश्वस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ।