काठमाडौँ: उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास अभावको दोष उद्योगी र कर्मचारीतन्त्रलाई लगाएकी छन्। बुधबार उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उद्योगीहरूलाई जिम्मेवार नबनाएसम्म काठमाडौँमा ग्यासको आपूर्ति सहज हुन नसक्ने बताइन्।
मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग सञ्चालनमा रहे पनि काठमाडौंमा पर्याप्त मात्रामा ग्यास नपठाउँदा अहिलेको समस्या देखिएको बताइन्। उनले उद्योगीलाई पाता फर्काउनुपर्ने सम्म बताइन्। ‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ,’ उनले भनिन्, ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’
मन्त्री यादवले नेपालमा सञ्चालनमा रहेका कुनै पनि ग्यास उद्योग नेपाल आयल निगमको स्वामित्वमा नरहेको र सबै निजी क्षेत्रबाट सञ्चालन भइरहेको जानकारी दिइन्। ५८ वटै उद्योगले दैनिक कम्तीमा ३ हजारका दरले काठमाडौंमा ग्यास सिलिन्डर पठाउने हो भने अहिलेको अवस्था नआउने उनको भनाइ थियो।
‘हामीसँग ५८ वटा ग्यास उद्योग छ तर नेपाल आयल निगमको निहित कुनै पनि छैन। सबै हामीले प्राइभेटमा दिएका छौँ। ५८ वटै प्राइभेटमा दिएको छ,’ उनले भनिन्, ‘५८ वटै ग्यास उद्योगले ३–३ हजारको दरले हरेक दिन काठमाडौंमा ३ हजार सिलिन्डर मात्रै पठाइदिएको भए आज यो स्थिति आउने थिएन। तर कसैले पठाउँदैन।’
काठमाडौँका लागि ठूलो संख्यामा ग्यास पठाइएको दाबी गरिए पनि वास्तविक रूपमा बजारमा निकै कम मात्र सिलिन्डर पुगेको भन्दै मन्त्री यादवले आपूर्ति शृंखलामै प्रश्न उठाइन्।
‘हिजोअस्ति पनि ४५ हजार सिलिन्डर हामीले काठमाडौं पठाएका छौँ, तर यहाँ १९ हजार, २० हजारभन्दा बढी कसैले पाएको छैन,’ उनले भनिन्, ‘हिजो पनि ४८ हजार सिलिन्डर काठमाडौंका लागि त्यहाँबाट हिँडेको छ, तर १९ हजारभन्दा बढी गएको छैन। कहाँ गयो त्यो सिलिन्डर? कसैलाई केही थाहा छैन।’
ग्यासको आपूर्ति व्यवस्थापनमा सरकारले प्रभावकारी कदम चाल्न खोजे पनि कानुनी र प्रशासनिक झन्झटका कारण समस्या भइरहेको उनले गुनासो गरिन्।
‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?’ मन्त्री यादवले भनिन्, ‘कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्।’
उनले आफूले उद्योग तथा व्यवसायका क्षेत्रमा रहेका पुराना नियमकानुन परिवर्तन गर्न खोजे पनि सहज नभएको बताइन्।
‘उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्छ। उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै चेन्ज गर्न खोजिरहेकी छु, तर गर्न सकिरहेको छैन,’ उनले भनिन्।
मन्त्री यादवले आगामी दिनमा नेपाल तेल, ग्यास, लुगा, खाद्यान्न र चिनीमा आत्मनिर्भर बन्नुपर्ने बताइन्।
बैठकमा मन्त्री यादवले चिनीको आपूर्ति सहज बनाउन २५ हजार मेट्रिक टन चिनी आयात गर्ने स्वीकृति प्राप्त भएको जानकारी दिइन्। उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २२ हजार ५ सय मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २ हजार ५ सय मेट्रिक टन गरी कुल २५ हजार मेट्रिक टन चिनी आयात गरिनेछ।
बजारमा चिनीको मूल्य १५० रुपैयाँभन्दा कम नरहेको गुनासो आए पनि सरकारी संस्थानबाट भने १०५ देखि १०९ रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताइन्।
‘अहिले चिनीको मूल्य बजारमा १५० रुपैयाँभन्दा कम कहीँ पनि छैन भन्ने सुनिन्छ। तर हामी खाद्य संस्थानबाट १०९ रुपैयाँमा बेचिरहेका छौँ र साल्ट ट्रेडिङबाट १०५ रुपैयाँमा पनि छ, १०९ रुपैयाँमा पनि छ,’ उनले भनिन्, ‘योभन्दा बढी छ भने त्यो चाहिँ कारबाहीको भागीमा पर्छ।’
चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई समेत तीव्रता दिएको मन्त्री यादवले बताइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ४४ जिल्लाका १९३ स्थानबाट नेपाल फुड्स ब्रान्डका खाद्यान्न बिक्री गर्दा प्रतिकिलो ५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको उनले जानकारी दिइन्।
समिति सभापति रहबर अन्सारीले चिनीको मूल्य वृद्धिबारे सरकारसँग जवाफ मागेका छन्। केही महिनाअघि नै आफूले चिनीको आपूर्ति र मूल्यबारे सरकारलाई सचेत गराएको स्मरण गर्दै उनले त्यसबेला पर्याप्त मौज्दात रहेको बताइए पनि अहिले बजारमा चिनीको मूल्य बढेको भन्दै प्रश्न उठाए।
‘दुई दिनअगाडि वीरगञ्जमा बजारमा चिनीको मूल्य बुझ्दाखेरि १३० रुपैयाँ भनेका छन्। माननीय मन्त्रीज्यू आफैँले पनि १०५–१०६ भन्दै हुनुहुन्छ, जुन भनेको ३ महिना २० दिनअगाडि कमिट भएको प्राइसभन्दा अत्यधिक छ,’ अन्सारीले भने।
समयमै विदेशबाट चिनी आयात गर्न सके अहिलेको समस्या नआउने उनको दाबी थियो। ‘३ महिना २० दिनअगाडि यदि हामीले थाइल्याण्डबाट, ब्राजिलबाट, अन्य मुलुकबाट इम्पोर्ट गरिसकेको भए, ५० हजारदेखि ६० हजार मेट्रिक टन इम्पोर्ट गरेको भए आज त्यो अवस्था आउने थिएन,’ उनले भने।
नेपालमै रहेको चिनीको मूल्य छोटो अवधिमै बढ्नुको कारणसमेत अन्सारीले प्रश्न गरे। ‘त्यतिखेरको स्टक, त्यतिखेरको चिनी आजको दिनमा ८५ रुपैयाँ प्लस भ्याटबाट चाहिँ अहिले किन १०६ रुपैयाँ भयो त? यो ३ महिना २० दिनमा चिनीका बोराहरूमा चाहिँ हीरा र मोती पलाए कि?’ उनले प्रश्न गरे।