काठमाडौँ: यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनरुत्थानका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
दुई कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउसमेत वितरण गरेको जनाएको छ।
बाढी प्रभावित तथा आश्रयस्थलमा रहेका नागरिकलाई राहतस्वरूप चाउचाउ वितरण गरिएको हो। आवश्यकताअनुसार थप सहयोग गर्न आफूहरू तयार रहेको कम्पनीको भनाइ छ।