२०८३ कार्तिक ११ गते मङ्गलबार

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
News 3 (1).psd (2)

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

ग्यासको सहज आपूर्ति हुन नसकेर  सरकारमाथि प्रश्न उठिरहेका बेला उद्योगी र सरकारबीच आरोप–प्रत्यारोपसमेत बढेको छ। यहीबीच बिहीबार उद्योग तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा समेत दिनुपर्‍यो। प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रालयको जिम्मेवारी दीपक साहलाई सुम्पिऐका छन्।

ग्यास आपूर्तिको वास्तविक अवस्था, अभाव हुनुको कारण, ढुवानीमा देखिएको समस्या र अबको समाधानबारे एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दसँग गरिएको कुराकानीको सम्पादित अंश–

अहिले के कारणले समस्या देखिएको हो?

अहिले ग्यास आयात नै रोकिएर वा भारतबाट ग्यास आउन छाडेको कारण समस्या देखिएको होइन। भारतबाट आवश्यकताभन्दा १० देखि १५ प्रतिशतसम्म बढी ग्यास आइरहेको छ। तर देशभर पहिले नै खाली भएका ठूलो संख्याका सिलिन्डर नभरिँदा बजारमा अभावको अवस्था देखिएको हो।

काठमाडौँमा मात्रै सामान्य अवस्थामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुन्छ। अहिले दैनिक ५० हजारको हाराहारीमा सिलिन्डर काठमाडौँ ल्याउने प्रयास भइरहेको छ। तर यसअघि खाली भएका सिलिन्डर ठूलो संख्यामा घरघरमै थुप्रिएका कारण नयाँ आपूर्ति थपिँदैमा तत्कालै बजार सामान्य अवस्थामा फर्किन सक्ने अवस्था देखिएकव छैन।

यो समस्या समाधानको उपाय के त?

खाली सिलिन्डर नभरिएसम्म सहज हुँदैन। अहिलेको मुख्य चुनौती नयाँ ग्यास ल्याउनु मात्र नभई पहिले खाली भएका सिलिन्डरहरू भर्नु हो। पहिले खाली भएका सिलिन्डर होल्डिङमा छन्। जबसम्म नेपालका १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म नेपालमा ग्यास सहज हुँदैन। त्यो भरिने भनेको ग्यास आएर मात्रै हो, आयात बढाएर हो।

विगतमा नेपाललाई मासिक करिब ५० हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने गरेकोमा अहिले ६० हजार मेट्रिक टनसम्म ग्यास आएको छ। तर त्यसले समेत माग धान्न सकेको छैन। अहिले देखिएको हाहाकारको मुख्य कारण ग्यासको अभावभन्दा पनि आपूर्ति र वितरण प्रणालीमा आएको अवरोध हो। एकैपटक ठूलो संख्यामा खाली सिलिन्डर बजारमा थुप्रिएपछि त्यसलाई पुनः भरेर बजारमा पठाउन समय लागिरहेको छ।

हामी भारतबाट तराई र त्यसपछि बल्ल काठमाडौँमा सिलिन्डर ल्याइरहेका छौँ। सोझै काठमाडौँ ल्याउन किन नसकेको?

यसको कारण महँगो ढुवानी प्रणाली हो। ग्यास उद्योगहरूले काठमाडौँ उपत्यकामा ग्यास ल्याउन अहिले वैकल्पिक ढुवानी प्रणाली अपनाइरहेका छन्। भारतबाट आउने ग्यासका बुलेटहरू काठमाडौँसम्म ल्याउन नसकिने भएकाले तराईका जिल्लामा ग्यास अनलोड गरेर त्यहाँबाट सिलिन्डर भरेर सडकमार्फत काठमाडौँ ल्याउने गरिएको छ।

काठमाडौँ आउने क्रममा १० चक्के ट्रक प्रयोग भइरहेका छन्। सामान्य अवस्थामा २१ टनसम्म बोक्न सक्ने भए पनि सडक तथा पुराना पुलहरूको अवस्थाका कारण अहिले १५ टन मात्रै बोकेर ल्याउनुपर्ने अवस्था छ। १२ वा १४ चक्के ठूला ट्रकहरू कतिपय सडकमा जान नसक्ने तथा पुराना पुलहरूले बढी भार धान्न नसक्ने भएकाले १० चक्के ट्रकबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ। यसले ढुवानी लागत बढाएको छ।

काठमाडौँका ग्यास उद्योगहरूसँग ठूला ट्रक नहुने अर्को समस्या छ। शहरभित्र ठूला ट्रक प्रवेशमा समस्या हुने भएकाले साना गाडीमार्फत मात्र ग्यास वितरण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

संकटको बेला ग्यासको मूल्य बढेर २१ सय ६१ पुग्यो। त्यतिमा पनि अहिले उपभोक्ताले सिलिन्डर नपाइरहेको अवस्था छ। 

ग्यासको मूल मूल्य उद्योगीले निर्धारण गर्दैन, यसमा स्पष्ट हुनुपर्छ।  ग्यासको मूल्य निर्धारण गर्ने अधिकार नेपाल आयल निगमसँग छ। तर अहिले असामान्य परिस्थितिमा अतिरिक्त ढुवानी खर्च लागेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ। हामीले ग्यासको मूल्य बढाएका छैनौँ, ग्यासको मूल्य उद्योगीले बढाउने पनि होइन। आयल निगमले डिटरमाइन गर्ने कुरा हो। तर एक्स्ट्रा ट्रान्सपोर्टेसन लाग्यो, त्यसको त कहीँ न कहीँ त पे गर्नुपर्यो नि।

उद्योगीले एउटा सिलिन्डर भरेर बिक्री गर्दा करिब ३२ रुपैयाँ मात्रै पाउने गरेका छन्। त्यही रकमबाट अतिरिक्त ढुवानी खर्च व्यहोर्नुपर्ने अवस्था आए उद्योगीलाई पनि समस्या परेको छ। हेटौँडाबाट काठमाडौँसम्मको दूरी करिब १३१ किलोमिटर रहेको र नेपाल आयल निगमले ५० किलोमिटरसम्मको ढुवानी खर्च समायोजन गरिसकेको छ। बाँकी दूरीका लागि सम्बन्धित निर्णयका आधारमा ढुवानी लागत निर्धारण गरिएको हो।

५० किलोमिटरका लागि निगमले ५७ रुपैयाँ ५७ पैसा दिएको आधारमा बाँकी ८१ किलोमिटरको लागत गणना गर्दा भ्याटसहित करिब १०५ रुपैयाँ पुगेको हो। हामीले त्यो कानुनमै टेकेको हो, कानुनभन्दा बाहिर हामी गएका छैनौँ।

तर तोकिएको भन्दा बढी मूल्य तिर्नुपरेको पनि छ नि। सिलिन्डर लुकाएर महँगोमा बेच्ने केही व्यापारी पक्राउ समेत परे। २५ सय भन्दा बढी तिर्नुपरेको गुनासो छ। संकटमा कालोबजारी भएको हो?

यसबारे उद्योग संघले अधिकतम बिक्री मूल्य तोकेर सबै उद्योग र डिलरलाई निर्देशन दिइसकेको छ। संघले साधारण सभाबाट निर्णय गरेर तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न उद्योगी तथा डिलरलाई पत्राचार गरेको छ। अहिले काठमाडौँमा ग्यासको मूल्य २१ सय ६५ रुपैयाँभन्दा बढी छैन। योभन्दा नबढ्ने गरेर बिक्री वितरण गर्नुपर्छ। आफ्ना डिलरहरूलाई पनि त्यो पत्राचार गर्नुपर्छ। त्यो भन्दा बढी गर्छ भने कालोबजारी हो।

तोकिएको मूल्यभन्दा बढीमा बिक्री भए त्यो कालोबजारी हो, तर उद्योग संघसँग बजारमा अनुगमन गर्ने, जरिवाना गर्ने वा सजाय दिने अधिकार छैन। उद्योगहरूले कुन डिलरलाई कति ग्यास दिएको हो भन्ने विवरण आयल निगमलाई दैनिक उपलब्ध गराउँदै आएका छन्। डिलरको ठेगाना, फोन नम्बर र भ्याट नम्बरसमेत उपलब्ध गराउने गरिएको छ। अब ती विवरणका आधारमा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्‍यो।

केही डिलर आफैँ तराईका उद्योगमा पुगेर ग्यास खरिद गरी काठमाडौँ ल्याउने गरेको पाइएपछि त्यसलाई रोक्ने निर्णय गरिएको छ। उद्योग संघले त्यस्तो कारोबारले बजारमा कालोबजारी बढ्न सक्ने आशंका गर्दै त्यस्तो व्यवस्था बन्द गर्न निर्देशन दिएको छ। उद्योगबाट बिक्री हुने ग्यासको मूल्यमा ढुवानी खर्चसमेत समावेश हुने भए पनि साना व्यवसायीले छुट्टै ट्रक खोजेर ग्यास ल्याउँदा आफूखुसी भाडा थप्न सक्ने समस्या नभएको होइन।

समस्या सरकारको कि उद्योगीको?

सोमबारको बैठकमा उहाँ(पूर्वमन्त्री यादव)ले भेट्ने बित्तिकै तपाईँहरूलाई थुनेर मात्रै ग्यास आउँछ भन्नुभयो। मन्त्रालयमा सचिवसहितको उपस्थितिमा उद्योगीहरूलाई थुन्ने कुरा आयो। मैले त भनेँ— यदि थुनेर ग्यास आउँछ भने हामीलाई थुन्नुस्। पहिले ग्यास ल्याउने निश्चित गर्नुहोस, हामी थुनिन्छौँ। दुई–चार दिन थुनिँदैमा के बिग्रियो र ? तर, त्यो तरिका होइन नि। समस्या समाधान गरेर जसरी भए पनि ग्यास ल्याऊ भन्नुपर्ने ठाउँमा यस्तो धम्की आएको छ।

हामीले मन्त्रीज्यूहरूलाई भनेका थियौँ— तपाईंहरूलाई दिनको ५० देखि ६० हजार सिलिन्डर हेटौँडा र चितवनमा दिन्छौँ, त्यहाँबाट ढुवानी गर्ने व्यवस्था मिलाइदिनुस्, आफैँ ल्याइदिनुस्। मूल्य पनि बढाउनु परेन, त्यहाँकै दरमा दिन्छौँ। तर उहाँहरूले खाद्य संस्थानको एउटा मात्र ट्रक छ, अरू केही गर्न सक्दैनौँ भन्नुभयो। त्यसपछि आफैँ गएर ट्रक व्यवसायीहरूसित सम्झौता गरेर जोखिम मोल्दै दोहोरो भाडा तिरेर ग्यास ल्याउन बाध्य भयौँ।

आयात, ढुवानी, भण्डारण र उपभोक्तासम्म पुर्‍याउने सम्पूर्ण सञ्जाल उद्योगीहरूकै काँधमा छ। मन्त्रालयको असहयोगपछि उद्योगीहरूले प्रधानमन्त्रीको सचिवालयमा पुगेर सहकार्यका लागि ध्यानाकर्षण गराएका थियौँ। काठमाडौँका लागि त्रिभुवन राजपथमा रात्रिकालीन समयमा पनि ग्यासका गाडीहरूलाई सहज आवतजावत गर्ने वातावरण मिलाइदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासनसँग माग गरेका छौँ।

काठमाडौँमा अहिले ग्यास आपूर्तिको अवस्था के छ?

काठमाडौँमा पछिल्लो दिनमा ग्यासको आपूर्ति बढाइएको छ। अघिल्लो दिन करिब ४४ हजार सिलिन्डर काठमाडौँ आएकोमा दोस्रो दिन करिब ५२ हजार सिलिन्डर आएका छन्।

ग्यास ढुवानी गर्ने ट्रकको संख्या पनि बढाउने प्रयास भइरहेको छ। हाल करिब १०० वटा ट्रक ग्यास ढुवानीमा परिचालित रहेको र थप ट्रक परिचालन गर्ने तयारी भइरहेको छ।

ट्रक व्यवसायीसँग समन्वय गरेर हेटौँडाबाट ग्यास बोकेका गाडी दिनमा एकपटक मात्र छाड्ने अवस्थालाई बढाएर दुई–तीनपटकसम्म पठाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ। खाली सिलिन्डर बोकेर फर्किने गाडीलाई रातिको समयमा पनि सञ्चालन गर्न दिनुपर्ने माग गरेका छौँँ।

ग्यासको हाहाकार समाधान गर्न सरकारले उद्योग र डिलरको अनुगमनमा मात्र केन्द्रित नभई भारतबाट थप ग्यास आयातका लागि कूटनीतिक पहल गर्नुपर्छ।  ग्यास उद्योगीले भारतबाट आफ्नो क्षमताले भ्याएसम्म ग्यास ल्याइरहेका छन्। तर थप आयातका लागि सरकारको उच्च तहबाट पहल आवश्यक छ।

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत कुरा गरेर ग्यास इम्पोर्ट कसरी गर्ने भनेर म्याक्रो लेभलमा काम गर्ने हो नि, माइक्रो लेभलमा होइन।

ग्यास ल्याउँदै नल्याएको, ल्याउन नखोजेको, ट्रान्सपोर्टरले हडताल गरेको या ट्रान्सपोर्टर नल्याउनु भनेका छैनौँ। अहिले काठमाडौँमा हरेक दिन खपत ४० हजार सिलिन्डर हो। अहिले त एक लाख सिलिन्डर पनि बिक्री हुन्छ। एक महिनाभरि एक–एक लाख सिलिन्डर दिए हुन्छ नि कसको के जान्छ ? तर तपाईं–हामीहरूका घरमा खाली थुप्रिएका सिलिन्डर नभरिन्जेलसम्म यो सहज हुँदैन।

ग्यास अभावको समस्या कहिलेसम्म समाधान हुन्छ?

अहिलेको असहजता क्रमशः घट्दै जानेछ। कृष्णभीरको सडक अवरोधलगायतका कारण ढुवानीमा थप समस्या आए पनि अहिले वैकल्पिक मार्ग र थप ट्रक परिचालनमार्फत आपूर्ति बढाउने काम भएको छ।

यो समस्या पनि एकैचोटि आएको होइन, समाधान पनि एकैचोटि हुँदैन। तर मिनिमाइज हुँदै जान्छ, असहजता घट्दै जान्छ।

भारतबाट अहिले ग्यास सहज रूपमा आइरहेको छ। पछिल्लो समय आपूर्तिमा ठूलो अवरोध नरहेको र प्रत्येक महिना आवश्यक परिमाणभन्दा १०–१५ प्रतिशत बढी ग्यास आइरहेको अवस्था छ।

प्रकाशित: २०८३ भदौ २७ गते शनिवार ०९:५२
प्रतिक्रिया

थप समाचार

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ। हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावना...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘उत्तरी नाका अवरुद्ध हुँदा नेपाल–चीन व्यापार गम्भीर संकटमा, अर्बौंको लगानी जोखिममा’

हालै गएको सुख्खा पहिरोले केही कन्टेनर क्षतिग्रस्त भएका छन्। हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं। कुनै पनि बेला थप पहिरोले कन्टेनर बगाउन सक्ने डर छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना