काठमाडौँ: विश्वको दोस्रो ठूलो अर्थतन्त्र छिमेकी चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब ३८ अर्ब (३.४३८ ट्रिलियन) डलर पुगेको छ।
समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी डलरको कमजोरी कायमै रहँदा गत अगस्ट महिनामा चीनको विदेशी मुद्रा सञ्चिति अपेक्षाभन्दा बढेको हो।
यसअघिको महिनामा विदेशी विनिमय सञ्चिति ३४ खर्ब १९ अर्ब (३.४१९ ट्रिलियन) डलर थियो। रोयटर्सको सर्वेक्षणमा ३.४२५ ट्रिलियन डलर हुने अनुमान गरिएको थियो।
चीनको निर्यात व्यापारको ग्राफ निरन्तर उकालो लागेको छ। आधिकारिक भन्सार तथ्यांकअनुसार, यस वर्षको आठ महिनामा चीनको वैदेशिक व्यापारमा निकै सकारात्मक वृद्धि देखिएको हो।
यस अवधिमा कुल वस्तु आयात र निर्यात १७.६ प्रतिशत बढेर ३४७ खर्ब ८० अर्ब (३४.७८ ट्रिलियन) युआन पुगेको छ। डलरमा ५१ खर्ब ८० अर्ब पुगेको छ।
निर्यात १४.६ प्रतिशत बढेर २०१ खर्ब ७० अर्ब (२०.१७ ट्रिलियन) युआन पुगेको छ। यसबीचमा आयात २२ प्रतिशत बढेर १४६ खर्ब १० अर्ब (१४.६१ ट्रिलियन) युआन कायम भएको छ।
यता छिमेकी भारतमा विदेशी मुद्रा सञ्चितिले कीर्तिमानी स्तर कायम गरेको छ। भारतको रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) का अनुसार डलर सञ्चिति बढेर ७ खर्ब ८५ अर्ब ७० करोड डलर पुगेको छ।
देशको भुक्तानी सन्तुलन सुदृढ पार्ने नीतिगत उपायहरूमार्फत भित्रिएको ठूलो परिमाणको रकमका कारण कीर्तिमानी स्तर कायम गरेको रोयटर्सले जानकारी दिएको छ।
भारतको विदेशी मुद्रा सञ्चिति लगातार १० सातादेखि बढिरहेको छ। यस अवधिमा करिब एक खर्ब २० अर्ब डलरले वृद्धि भएको छ। पछिल्लो तथ्यांकअनुसार ४५ अर्ब डलरको वृद्धि देखाएको छ।
गत जुनमा, भारतले डलरको भित्रिने प्रवाह बढाउन विभिन्न उपायहरू सार्वजनिक गरेको थियो। यसमा सरकारी कम्पनी तथा बैंकहरूका लागि विदेशबाट लिइने ऋणमा सहुलियतपूर्ण हेजिङ सुविधा र बैंकहरूका लागि विदेशी मुद्रामा निक्षेप संकलन गर्दा निःशुल्क हेजिङ सुविधा उपलब्ध गराउने जस्ता उपायहरू समावेश थिए।
जुन ५ देखि अगस्ट ३१ को अवधिमा आरबीआईले यी योजनाहरूमार्फत १ खर्ब ३६ अर्ब ३० करोड डलर प्राप्त गर्यो। यसमा गैरआवासीय भारतीय निक्षेपबाट प्राप्त १ खर्ब २७ अर्ब डलरको रकम प्रमुख रह्यो। जुन अपेक्षाभन्दा निकै बढी थियो।
डलरको उच्च प्रवाहका कारण केन्द्रीय बैंकले विदेशी निक्षेपसम्बन्धी हेजिङ सुविधाको समयावधि एक महिना छोट्याएर अगस्टको अन्त्यसम्म कायम गरेको थियो।
सेप्टेम्बर ४ मा समाप्त भएको सातामा केन्द्रीय बैंकको विदेशी मुद्रा सम्पत्तिमा ४७.४ अर्ब डलर वृद्धिले कुल सञ्चिति बढाउन मुख्य भूमिका खेलेको हो। जबकि, यसको सुन मौज्दातको मूल्य करिब २.६ अर्ब डलर घटेर १ खर्ब १३ अर्ब ८० करोड डलरमा सीमित भयो।
बैंकरहरूका अनुसार, रुपैयाँलाई टेवा दिन विदेशी मुद्रा बजारमा आरबीआईले गरेको बारम्बारको हस्तक्षेपले विदेशबाट भित्रिएको डलरको केही प्रभावलाई सम्भवतः निष्प्रभावी बनाएको छ।
यता सानो अर्थतन्त्र नेपालको विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशत वृद्धि भई गत असारसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।
विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २५ खर्ब ३१ अर्ब छ। यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर थियो। २०८३ असार मसान्तमा २९.८ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत छ। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।