गाउँकै मोहन झाको घरमा जडान गरिएको समरसेवल पम्पको भरमा स्थानीय बस्नुपरेको छ। दुई बाल्टी पानी भर्न घण्टौँ कुर्नुपर्ने अवस्था छ।
झाका अनुसार बेतौनामा पछिल्लो पाँच वर्षदेखि पानीको समस्या बढ्दो छ। वर्षायाममा पर्याप्त पानी परे केही समय चापाकलमा पानी आउने गरेको छ। तर, यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपरेकाले छापाकल सुकेको उनले सुनाए। ‘असार–साउनमा राम्रो पानी पर्दा मंसिर–पुससम्म चापाकलमा थोरै–थोरै पानी आउँथ्यो। तर यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपर्दा चापाकलबाट पानी आउनै छाडेको छ,’ उनले भने।
खडेरीका कारण खेतमा धान सिँचाइ गर्न एकैपटक मोटर र दमकल सञ्चालन हुँदा भूमिगत पानीमा थप दबाब परेको उनको भनाइ छ। तत्काल वैकल्पिक व्यवस्था नगरे बेतौनाबासीले अझ ठूलो पानी संकट बेहोर्नुपर्ने उनको अनुमान छ।
यो वर्षको लामो खडेरीले बेतौनामा घरेलु प्रयोजनका लागि मात्र नभई कृषि उत्पादनमा समेत असर पार्ने देखिएको छ। पर्याप्त वर्षा नहुँदा खेतमा सिँचाइको माग बढेको छ भने भूमिगत पानीको अत्यधिक दोहनले खानेपानीका स्रोतसमेत सुक्दै गएका छन्।
बेतौना मात्र होइन, पछिल्ला वर्षमा तराई–मधेशका विभिन्न क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जाँदा खानेपानीको संकट गहिरिएको छ। चुरे क्षेत्रको अनियन्त्रित दोहन, अनियमित वर्षा, लामो खडेरी, भूमिगत पानीको अत्यधिक प्रयोग, परम्परागत पोखरी तथा जलाशयको अतिक्रमण र बढ्दो तापक्रमले पानीको प्राकृतिक पुनर्भरण प्रणाली कमजोर बनाएको छ।











