काठमाडौं। अमेरिकामा बैंकको ब्याजदर बढेको छ। तीन वर्षपछि फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएको हो। बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयासस्वरूप ब्याजदर अझै माथि पुग्न सक्ने अनुमान गरिएको छ।
अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतबाट बढाएर ३.७५ देखि ४ प्रतिशतसम्म पुर्याएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउनुपर्ने माग गर्दै कडा विरोध गरे पनि फेडरल रिजर्भले उनको दबाबविपरित ब्याजदर बढाएको हो।
फेडेरल रिजर्भका अध्यक्ष केभिन वार्शले यो कदम चाल्नुको कारण उच्च महँगी भन्दै आएका छन्। उनले ब्याजदर वृद्धि गम्भीर जिम्मेवारीपूर्ण निर्णय भएको बताए।
घोषणापछि ट्रम्पले वार्शप्रति समर्थन व्यक्त गरे। तर, ब्याजदरसम्बन्धी निर्णयमा मतदान गर्ने फेडको बोर्ड, जसले दरको निर्णय गर्यो उसलाई बिरोधीको संज्ञा दिए।
उच्च ब्याजदरका कारण ऋण, घर किन्न लिइने मोर्गेज तथा क्रेडिट कार्डका लागि पैसा उधारो लिन चाहने मानिसहरूलाई बढी खर्च पर्छ। तर यसले बचतमा प्राप्त हुने प्रतिफल भने राम्रो हुन सक्छ।
ब्याजदर वृद्धिको निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वार्शले फेडको नेतृत्वमा आशावादी दृष्टिकोण भए पनि महँगी अझै समस्याका रूपमा रहेको बताए।
धेरैजसो केन्द्रीय बैंकहरु जस्तै फेडको पनि महँगीलाई २ प्रतिशत वा त्योभन्दा कममा राख्ने लक्ष्य छ। अध्यक्ष वार्शले अमेरिकामा महँगी पाँच वर्षभन्दा बढी समयदेखिू उक्त लक्ष्यभन्दा माथि रहेको बताए।
यसले अमेरिकी मतदाताहरूका लागि जीवनयापनको खर्च धान्न सक्ने क्षमतालाई प्रमुख चिन्तामध्ये एक बनाउन मद्दत गरेको छ। अमेरिकाले इरानसँग सुरु गरेको युद्धपछि थोक तेलको मूल्य अत्यधिक बढ्दा इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ।
यसका कारण धेरै प्रकारका सामान तथा सेवाको लागतसमेत बढेको छ। विश्व बजारमा कच्चा तेलको भाउ ब्रेन्ट क्रुडमा १०३ डलर माथि कारोबार भएको छ।
फेडले तेलको मूल्य होस् वा किराना पसलमा पाइने खाद्य सामग्रीको मूल्य, कुनै पनि व्यक्तिगत वस्तुको मूल्यलाई प्रत्यक्ष रूपमा प्रभावित गर्न सक्दैन वार्शले भने। तर केन्द्रीय बैंकले मूल्यवृद्धि सम्पूर्ण अर्थतन्त्रमा फैलिन नदिन काम गर्न सक्छ।
उनले रोजगारी बजार र समग्र अर्थतन्त्र बलियो भएकाले फेडले मूल्य स्थिर राख्ने आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गरिरहेको बताए। साथै महँगी कम हुँदा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका मानिसहरूले सबैभन्दा धेरै लाभ पाउने पनि उनले बताए।
महँगी उच्च हुँदा केन्द्रीय बैंकहरुले सामान्यतया ब्याजदर बढाउने गर्छन्। यसको उद्देश्य मानिसहरूलाई कम खर्च गर्न र बढी बचत गर्न प्रोत्साहित गर्नु हो, जसबाट मूल्य बढ्ने गति कम हुने अपेक्षा गरिन्छ।
तर, यो एक प्रकारको सन्तुलन कायम गर्ने प्रक्रिया हो किनभने उच्च ब्याजदरले व्यवसायहरूलाई नयाँ लगानी गर्न ढिलाइ गर्न पनि प्रेरित गर्न सक्छ। यसले आर्थिक वृद्धिमा नकारात्मक असर पार्न सक्छ।
जब वार्शको नियुक्ति अनुमोदन भएको थियो डेमोक्रेटिक सांसदहरूले वार्श ट्रम्पको पपेट अर्थात् आफ्नो निर्णयभन्दा अरूको निर्देशनअनुसार चल्ने व्यक्ति हुने बताएका थिए।
धेरैजसो फेडसम्बन्धी विश्लेषकहरूले पनि ट्रम्पले लगातार ब्याजदर घटाउन गरेको मागलाई वार्शले कार्यान्वयन गर्ने अपेक्षा गरेका थिए। ट्रम्पले यसअघि वार्शका पूर्ववर्ती जेरोम पावलले ब्याजदर नघटाएको भन्दै उनको कडा आलोचना गरेका थिए।
ब्याजदर बढाउने निर्णयले ट्रम्पलाई के सन्देश दियो भनेर सोध्दा वार्श मुस्कुराउँदै हाँसे र भने ूराष्ट्रपतिसँग भएको छलफलका बारेमा मसँग तपाईँका लागि केही भन्नु छैन।
पछि ट्रम्पले पत्रकारहरूसँग भने म केभिनमाथि भर गरिरहेको छु तर तपाईंलाई थाहा छ उहाँसँग निकै कडा बोर्ड छ।
फेडरल रिजर्भले ब्याजदर बढाएपछि विश्व बजारबाट लगानी पुनः अमेरिका फर्किने संभावना बढेको छ। यसको प्रत्यक्ष असर भारतलगायत अन्य विकासशील र उदीयमान अर्थतन्त्रमा पर्ने छ।
फेडको बढ्दो ब्याजदर नीतिले भारतको विदेशी विनिमय सञ्चितमा पनि असर पर्ने संभावना छ। हाल भारतको विदेशी विनिमय सञ्चिती बढेर सर्वाधिक ७ खर्ब ३० अर्ब डलरको उचाइमा पुगेको छ। (बीबीसीको सहयोगमा)