काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासन प्रणालीलाई थप निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउन तयार गरिएको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ।
बोर्डले सरोकारवाला पक्षहरूबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको हो। बोर्डका अनुसार सार्वजनिक निष्कासनका लागि योग्य, पारदर्शी तथा दिगो संगठित संस्थाको छनोट सुनिश्चित गर्नुका साथै लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले निर्देशिका तयार गरिएको हो।
मस्यौदामा सर्वसाधारणमा धितोपत्र निष्कासन गर्न चाहने संगठित संस्था, पब्लिक कम्पनीमा रूपान्तरण भएर सार्वजनिक निष्कासन गर्न चाहने संस्था तथा प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त अन्य संस्थालाई लागू हुने व्यवस्था प्रस्ताव गरिएको छ।
निर्देशिकामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न चाहने कम्पनीका लागि सामान्य तथा वित्तीय योग्यता, संस्थागत सुशासनका मापदण्ड, संस्थापक शेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता र सूचना प्रवाहसम्बन्धी व्यवस्था समेटिएको छ।
त्यस्तै, विवरणपत्र, ड्यु डिलिजेन्स तथा पेशागत उत्तरदायित्व, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग तथा त्यसको अनुगमन, निष्कासनपछिका दायित्व, अनुपालना तथा नियामकीय अनुगमनसम्बन्धी प्रावधानसमेत मस्यौदामा प्रस्ताव गरिएको बोर्डले जनाएको छ।
बोर्डले मस्यौदामा रहेका व्यवस्थामाथि कुनै राय, सुझाव वा प्रतिक्रिया भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको इमेलमा पठाउन सरोकारवाला पक्षलाई आग्रह गरेको छ।
बोर्डका अनुसार निर्देशिका लागू भएपछि सार्वजनिक निष्कासन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र समयसापेक्ष हुने अपेक्षा गरिएको छ। साथै अन्तर्राष्ट्रिय अभ्यास तथा मापदण्डसँग अनुकूल हुने गरी योग्य कम्पनीलाई पुँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र निजी क्षेत्र तथा सर्वसाधारणबाट थप पुँजी परिचालन गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने बोर्डको विश्वास छ।
यो मस्यौदा नेपाल सरकार, अर्थ मन्त्रालयले भदौ २९ गते सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को कार्यान्वयन प्रक्रियाअन्तर्गत सार्वजनिक गरिएको बोर्डले जनाएको छ।