काठमाडौँ: सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर ‘यात्री पीटू’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले पीटूको सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकेको छ।
नेपालका विविध भौगोलिक तथा सडक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पीटूमा कार्यक्षमता, रेन्ज, कनेक्टिभिटी र सहज चार्जिङलाई एकै प्लेटफर्ममा समेटिएको कम्पनीले जनाएको छ। स्कुटरमा ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ, कम्फर्ट तथा कनेक्टिभिटीका विकल्प छनोट गर्न सक्नेछन्।
पीटूमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। एक्टिभ्ली कुल्ड हाई–पावर कन्ट्रोलरका कारण उकालो तथा चुनौतीपूर्ण सडकमा पनि निरन्तर कार्यक्षमता कायम राख्न सहयोग पुग्ने बताइएको छ।
स्कुटरमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन, १४ इन्चका पाङ्ग्रा, डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम छन्।
पीटूमा ग्राहकको आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्। ३.० किलोवाट–घण्टा ब्याट्रीले वास्तविक सहरको अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट–घण्टा ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट–घण्टा ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
थप रेन्ज आवश्यक पर्ने ग्राहकले एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सक्नेछन्। ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ।
पीटूमा इन्स्टल्ड अनबोर्ड चार्जर रहेकाले घरमै छुट्टै चार्जिङ एडाप्टर बोक्नुपर्ने छैन। ब्याट्री कन्फिगरेसनअनुसार २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने तथा एमसी फास्ट चार्जिङमार्फत तोकिएको अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सुविधा दिइएको छ। यसबाट नेभिगेसन तथा आवश्यक राइडिङ जानकारी हेर्न सकिनेछ।
मोबाइल एपमार्फत लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ र सर्भिस अपोइन्टमेन्टजस्ता सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना स्कुटर चलाउन सकिने सुविधा पनि रहेको छ।
पीटूमा विभिन्न राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड र क्रुज कन्ट्रोललगायतका सुविधा छन्। एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लकले पार्किङका क्रममा सुरक्षा बढाउने कम्पनीको भनाइ छ।
काठमाडौँको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ग्राहकले त्यहाँ पीटूको प्रत्यक्ष अनुभव लिन, टेस्ट राइड गर्न तथा बुकिङ गर्न सक्नेछन्।
३.७ किलोवाट–घण्टा र ५.२ किलोवाट–घण्टा भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुने कम्पनीले जनाएको छ। अन्य भेरियन्टको डेलिभरी भने डिसेम्बर २०२६ देखि सुरु गर्ने तालिका छ।


