काठमाडौं। विप्रेषण (रेमिट्यान्स) आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिए पनि मुलुकको आन्तरिक अर्थतन्त्रमा भने अपेक्षित गति आउन सकेको छैन।बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहँदा निजी क्षेत्रतर्फको कर्जा विस्तार कमजोर देखिएको छ। यस्तै उपभोक्ता मुद्रास्फीति पनि बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार बाह्य क्षेत्रका प्रमुख सूचकहरू मजबुत बनेका छन्। तर, बैंकिङ प्रणालीमा रहेको तरलता उत्पादनशील क्षेत्रमा प्रवाह हुन नसकेको र कर्जाको माग कमजोर रहेको तथ्यांकले देखाएको छ।
रेमिट्यान्स २ खर्ब नाघ्यो
गत साउनमा मुलुकमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशत बढी हो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशत बढेर १ अर्ब ४० करोड डलर पुगेको छ।
रेमिट्यान्समा भएको वृद्धिले विदेशी मुद्रा सञ्चितिमासमेत थप बल पुगेको छ। साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो।
डलरमा पनि सञ्चिति २५ अर्ब ३१ करोडबाट बढेर २५ अर्ब ८४ करोड पुगेको छ। विद्यमान सञ्चितिले २१.८ महिनाको वस्तु आयात तथा १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकको आकलन छ।
तरलता छ, कर्जाको माग छैन
बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्रको कमजोरी बैंकिङ क्षेत्रको कर्जा विस्तारमा देखिएको छ।
वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.५ प्रतिशतले बढेको छ। तर निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धिदर ७ प्रतिशतमा सीमित छ।
साउनमा निक्षेप २० अर्ब ७१ करोड रुपैयाँ घटेर ८२ खर्ब ५६ अर्ब २१ करोडमा झरे पनि समग्रमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको देखिन्छ। सोही महिनामा निजी क्षेत्रतर्फको कर्जा २३ अर्ब ५८ करोड रुपैयाँ बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ।
कर्जाको माग कमजोर भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ठूलो परिमाणमा तरलता प्रशोचन गरेको छ। साउनमा निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत गरी कारोबारका आधारमा २२ खर्ब ७३ अर्ब ३० करोड रुपैयाँ प्रशोचन गरिएको छ।
यसले बैंकिङ प्रणालीमा पैसा अभावभन्दा पनि त्यसको उत्पादनशील उपयोग र कर्जाको माग कमजोर हुनु अहिलेको प्रमुख चुनौती रहेको देखाउँछ।
ब्याजदर घट्यो, तर कर्जा विस्तारमा गति आएन
कर्जाको ब्याजदर अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा आएको छ।
त्यस्तै निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशतबाट ३.१५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशतबाट ६.४८ प्रतिशतमा झरेको छ।
ब्याजदर घट्दा पनि निजी क्षेत्रको कर्जा वृद्धिदर ७ प्रतिशतमा सीमित रहनुले सस्तो ब्याजदर मात्रले कर्जाको माग बढाउन पर्याप्त नभएको संकेत गर्छ। ब्याजदर घटेर न्यून विन्दुमा पुग्दा पनि कर्जाको माग नहुने पुष्टि पनि भएको छ। यसका लागि व्यवसायीको लगानी गर्न आत्मविश्वास आवश्यक भएको छ।
व्यवसाय विस्तार, लगानीको वातावरण र समग्र आर्थिक गतिविधिमा रहेको सुस्तताले पनि कर्जाको माग प्रभावित गरेको हुन सक्छ।
आयात बढ्दा व्यापार घाटा चुलियो
बाह्य क्षेत्रका सकारात्मक सूचकसँगै वैदेशिक व्यापारमा भने आयातको दबाब बढेको छ।
साउनमा वस्तु निर्यात ६१.७ प्रतिशत बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। तर आयात ३१ प्रतिशत बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेपछि व्यापार घाटा २४.९ प्रतिशत बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
निर्यात–आयात अनुपात भने अघिल्लो वर्षको १६.७ प्रतिशतबाट बढेर २०.६ प्रतिशत पुगेको छ। निर्यातमा सुधार देखिए पनि आयातको तुलनामा यसको आकार अझै निकै सानो छ।
रेमिट्यान्सले धानेको बाह्य सन्तुलन अवस्था
साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ बचतमा छ भने शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड र शोधनान्तर बचत ८९ अर्ब ३० करोड रुपैयाँ थियो।
यसरी हेर्दा रेमिट्यान्सको उच्च आप्रवाहले आयातबाट सिर्जना भएको दबाबलाई बाह्य क्षेत्रमा सन्तुलन गर्न ठूलो भूमिका खेलेको देखिन्छ।
तर बाह्य क्षेत्रको मजबुती र आन्तरिक आर्थिक गतिविधिको अवस्था एउटै दिशामा छैन। एकातर्फ विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढिरहेका छन् भने अर्कोतर्फ निजी क्षेत्रको कर्जा विस्तार सुस्त छ।
महँगीले अर्को दबाब थप्यो
आन्तरिक अर्थतन्त्रको अर्को चुनौती मूल्यवृद्धि बनेको छ। साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको साउनमा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.५२ प्रतिशत पुगेको छ। घ्यू तथा तेल, फलफूल, माछा तथा मासु र तरकारीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य सूचकसमेत १३.१७ प्रतिशत बढेको छ।
यसले बाह्य क्षेत्र बलियो हुँदै गएको अवस्थामा पनि उपभोक्ताले महँगीको दबाब महसुस गरिरहेको देखाउँछ।
अर्थतन्त्रको तस्वीर मिश्रित
साउनको तथ्यांकले नेपालको अर्थतन्त्रमा एकैपटक दुई फरक तस्वीर देखाएको छ। रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति बलियो छन्। तर निजी क्षेत्रको कर्जा विस्तार सुस्त, बैंकिङ प्रणालीमा अधिक तरलता र मुद्रास्फीति बढ्दो अवस्थामा छ।
यसले अहिलेको चुनौती वित्तीय स्रोतको अभावभन्दा पनि त्यसलाई उत्पादन, लगानी र आर्थिक गतिविधिमा प्रभावकारी रूपमा परिचालन गर्ने देखाउँछ। बाह्य क्षेत्रबाट आएको बलियो आम्दानी आन्तरिक अर्थतन्त्रमा लगानी र उत्पादन बढाउने दिशामा कति रूपान्तरण हुन्छ भन्ने विषय आगामी महिनाका आर्थिक सूचकका लागि महत्वपूर्ण रहनेछ।