काठमाडौँ: चिनियाँ लगानीमा बूढीगण्डकी नदीमा ३२९.४ मेगावाट क्षमताका दुई अर्धजलासय जलविद्युत आयोजना निर्माण सुरु भएका छन्। नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बूढीगण्डकी ‘क’ र ‘ख’ क्यासकेड आयोजना बनाउन सुरु भएको हो। आयोजना प्रारम्भिक चरणमा रहेको छ। हालसम्म २ प्रतिशत वित्तीय प्रगति भएको नौलो नेपालले जनाएको छ।
उक्त नदी करिडोरमा १२ सय मेगावाटको बूढीगण्डकी आयोजना रहेको छ। यस्तै निजी क्षेत्रको टाइम्स इनर्जीले ३४१ मेगावाटको बूढीगण्डकी आयोजना निर्माण सुरु गरिसकेको छ।
जसअनुसार बूढीगण्डकी ‘क’ आयोजना १०३.४ मेगावाट क्षमताको हुने छ। यस्तै ‘ख’ आयोजना २२६ मेगावाटको हुने नौलो नेपालले जनाएको छ। दुई आयोजना बनाउन कूल ७० अर्ब ९८ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
जसअनुसार ५० अर्ब रुपैयाँ बैंकको ऋण र बाँकी २० अर्ब ९८ करोड ७० लाख रुपैयाँ संस्थापककको स्वपुँजी(इक्विटी) हुने भएको छ। प्रस्तावित आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५० लाख रुपैयाँ छ। आयोजनाको लगानी संरचना स्वपुँजी ३० र बैंकको ऋण ७० प्रतिशत रहेको छ।
बूढीगण्डकी ‘क’ आयोजना बनाउन २३ अर्ब २० करोड ९० लाख र ‘ख’ बनाउन ४७ अर्ब ७७ करोड ८० लाख रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। ऋण सम्झौताको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
इक्विटी भागको लागि चुक्ता पुँँजीको रूपमा १५ करोडष् ५० लाख र अग्रिम सेयर पुँजीको रूपमा ९३ करोड ८० लाख रुपैयाँ प्रवर्द्धकहरूले लगानी गरिसकेका छन्।
बूढीगण्डकी ‘क’ को डिजाइन डिसचार्ज प्रतिसेकेन्ड १११.३४ घनमिटर र ‘ख’ को ११८ घनमिटर रहेको अध्ययनले देखाएको छ। ‘क’ को ग्रसहेड १११ मिटर अग्लो र ‘ख’ को २२२ मिटर अग्लो छ।
दुई आयोजनाबाट कूल १ अर्ब ७५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ। जसअनुसार बूढीगण्डकी ‘क’ बाट ५४ करोड १३ लाख ७० हजार र ‘ख’ आयोजनाबाट १ अर्ब २१ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजना वर्खाको ६ महिनामा प्रतियुनिट ४.८० र सुक्खायामको पिकआवरमा प्रतियुनिट १०.५५ र अन्य बेला ८ रुपैयाँ छ। वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्य वृद्धि हुनेछ। प्लान्ट फ्याक्टर ६०.८३ प्रतिशत हुनेछ।
बूढीगण्डकी ‘क’ आयोजनाबाट सन् २०३० को मार्च ५ र ‘ख’ आयोजना सोही वर्षको मे ७ मा विद्युत उत्पादन गर्ने लक्ष्य छ। बूढीगण्डकी ‘क’ अन्तरगत धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युतगृह निर्माण गर्ने योजना कम्पनीको छ।
आयोजनाको माछाखोलामा उत्पादित विद्युत १२.७ किलोमिटर प्रसारण लाइन हुँदै बूढीगण्डकी ‘ख’ मा जोडिनेछ।
बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ। त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युतगृहमा पानी खसालेर बिजुली उत्पादन गरिने भएको छ। आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ।
आयोजनाबाट उत्पादन हुने बिजुली साढे १८ किलोमिटर दुरीमा रहेको धादिङको लापास्थित सवस्टेशनमा जोडिने भएको छ। कम्पनीको अध्यक्षता चेन लिक्सिङ रहेका छन्। जो मेसर्स एभरेस्ट हाइड्रो होल्डिङस कम्पनी लिमिटेडका निर्देशक प्रतिनिधि हुन्। मेसर्स एभरेस्ट हाइड्रो केम्यान टापुमा रहेको एक लगानी कम्पनी हो।
कम्पनीको ६ अर्ब १९ करोड ५० लाख अमेरिकी डलरको खुद नेटवर्थ छ। जसले कम्पनीको ९५ प्रतिशत हिस्सा ओगटेको छ। चेन जेनवेनसँग विभिन्न लगानी परियोजनाहरू व्यवस्थापन गर्ने एक दशक भन्दा बढीको अनुभव छ। यी दुवै निर्देशकहरूको धेरै देशहरूमा धेरै व्यवसायहरू छन्। नेपाली साझेदार गोरख थापा हुन्।
नेपालमा, जलविद्युत परियोजनाहरू भौगोलिक रूपमा चुनौतीपूर्ण हुन्छन्। जसले गर्दा तिनीहरूको निर्माण र सञ्चालन प्रकृतिको प्रतिकूलताहरूको जोखिममा पर्छ। यी क्षेत्रहरूमा हुने बाढी र पहिरोले यी विद्युत परियोजनाहरूलाई खतरामा पार्छ।
पूर्वाधारलाई क्षति र्पुयाउँछ र समयमै सम्पन्न नहुन पनि सक्छ। यसबाहेक, तिनीहरूको निर्माणमा अवरोधले समय र लागत बढाएर परियोजनाको वित्तीय पक्षहरूलाई नकारात्मक असर पार्न सक्छ।
प्राकृतिक प्रकोपहरूले विद्युत उत्पादन र वितरणको सहज प्रवाहलाई प्रतिकूल रूपमा असर गर्न सक्छ। जसले परियोजनाहरूको वित्तीय प्रतिफललाई थप असर गर्न सक्छ।


