काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीमा साइबर आक्रमणको जोखिम देखिएपछि सोमबारको सेयर कारोबार स्थगित गरिएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिको पूर्वाधारमा र्यान्समवेयर आक्रमण गरेको छ।
नेप्सेले सोमबार जारी गरेको सूचनाअनुसार डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको हो। समस्या समाधानका लागि पहल भइरहे पनि तत्काल समाधान हुन नसकेको र यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको नेप्सेको भनाइ छ।
नेप्सेका अनुसार स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत नियमित कारोबार सत्र स्थगित गर्न निवेदन दिएको थियो। त्यसपछि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २३(३) बमोजिम सोमबारको कारोबार स्थगित गरिएको हो।
यसैबीच, डाटा हब प्रालिले नेप्सेसँग सम्बन्धित पक्षलाई पठाएको छुट्टै पत्रमार्फत आफ्नो पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएको औपचारिक रूपमा जानकारी गराएको छ। डाटा हबका अनुसार २० सेप्टेम्बर २०२६ बिहान करिब ५ः३० बजे टीएमएस होस्टिङ गर्ने आफ्नो पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएको पहिचान गरिएको थियो।
कम्पनीले आक्रमण हुनुअघि लिइएको पछिल्लो ब्याकअप २० सेप्टेम्बर बिहान करिब ४ बजे गरिएको जनाएको छ। उक्त ब्याकअपलाई सुरक्षित गरी अलग्गै राखिएको पनि डाटा हबले जनाएको छ।
र्यान्समवेयर अन्य जडान भएका नेटवर्कमा समेत फैलिएको वा प्रभाव पारेको हुन सक्ने भन्दै डाटा हबले प्रभावित प्रणालीलाई सावधानीका रूपमा अलग्गै राखेको जनाएको छ। कम्पनीका अनुसार घटनाको वास्तविक प्रभाव पत्ता लगाउन फोरेन्सिक विश्लेषण तथा सुरक्षा र रिकभरीसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको छ।
डाटा हबले टीएमएस नेप्सेको पूर्वाधार तथा अन्य सम्बन्धित प्रणालीसँग जोडिएको भन्दै फोरेन्सिक विश्लेषण र आवश्यक सुधारात्मक प्रक्रिया पूरा नगरी प्रणाली पुनः अनलाइनमा ल्याउँदा थप जोखिम हुन सक्ने संकेत गरेको छ।
यसका लागि केही समय दिन तथा अन्य जडान भएका संस्थालाई समेत घटनाबारे जानकारी गराउन डाटा हबले आग्रह गरेको छ। अनुसन्धान र मूल्याङ्कन पूरा भएपछि थप जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ।
यसअघि सार्वजनिक भएको जानकारीअनुसार टीएमएस विकासकर्ता वाइको प्रालिले पनि सम्भावित थप क्षति रोक्न आफ्ना प्रणाली तत्काल बन्द गरिएको जनाएको छ। तर नेप्से र डाटा हबका विज्ञप्तिमा भने कारोबार पुनः कहिले सुरु हुन्छ भन्ने कुनै निश्चित समयसीमा तोकिएको छैन।


