काठमाडौँ: उबरले बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ। सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।
अभियानअन्तर्गत उबरले आफ्नो प्लेटफर्ममार्फत सम्पन्न हुने प्रत्येक यात्राबापत थप रकम राहतका लागि उपलब्ध गराउनेछ। जसअनुसार प्रत्येक उबर बाइक राइडबापत १० रुपैयाँ र उबर क्याब राइडबापत २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिने कम्पनीले जनाएको छ।
उक्त रकम यात्रु वा चालकबाट कट्टा गरिने छैन। यात्रुले नियमित भाडा नै तिर्ने र चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्। प्रत्येक योग्य सम्पन्न यात्राका लागि उबरले आफ्नै तर्फबाट उक्त रकम थप गर्ने जनाएको छ।
उबरका अनुसार नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरिने ५० लाख रुपैयाँ आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा प्रयोग हुनेछ।
नेपालका लागि उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का बेला यात्रु र चालक दुवैको सहभागितामार्फत राहतमा योगदान बढाउन सकिने बताए।
उनले दैनिक यात्रालाई सामाजिक योगदानसँग जोड्ने उद्देश्यले अभियान ल्याइएको भन्दै धेरैभन्दा धेरै यात्रु तथा चालकलाई सहभागी हुन आग्रह गरेका छन्।
उबरकी हेड, इन्टरनेसनल मार्केट्स, उबर इन्डिया एन्ड साउथ एसिया आकांक्षा सिंहले नेपालमा राहत तथा पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएकी छन्। कम्पनीले आफूले सेवा दिने समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको जनाएको छ।


