काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।
उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी स्रोतले दियो।
अहिले उनलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। उनलाई किन पक्राउ गरेको भन्ने प्रहरीले आधिकारिक जानकारी दिएको छैन।
चोलेन्द्र शमशेर २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए।
२०७८ साल फागुनमा उनीविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो। महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
२०७९को मंसिरमा उनको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनेर संसदका महासचिवले सर्वोच्चलाई पत्र लेखेका थिए। उक्त पत्रविरूद्ध रिट परेको थियो। उक्त रिट सर्वोच्चले खारेज गर्ने निर्णय गरिसकेको छ।
