काठमाडौँ- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। आगामी आव २०८०/८१ का लागि गत जेठ १५ गते पेस गरिएको बजेट यथास्थितिमा पारित गर्ने तयारी भएको भन्दै एमाले र रास्वापाका सांसदले विरोध गरेपछि बैठक स्थगित भएको हो।
एमालेका तर्फबाट सांसद पदम गिरि र रास्वपाका सन्तोष परियारले सरकारले गरेको प्रतिबद्धता अनुसार जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने व्यवस्था संशोधन नभएको भन्दै उठेर विरोध गरेपछि सभामुख घिमिरेले कांग्रेस सचेतक रमेश लेखकलाई बोल्नका लागि समय दिएका थिए।
लेखकले यसअघि नै मन्त्री र दलहरूले निर्वाचन कार्यालयका सम्बन्धमा भएको सहमतिअनुसार जान सकिने भन्दै प्राविधिक विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए। उनले उक्त व्यवस्थालाई संशोधन गरियोस् भन्ने प्रस्तावलाई अंग बनाएर जान सकिने धारणा राखेका थिए। तर यसपछि पनि एमाले र रास्वपाका सांसद नबसेपछि सभामुखले १५ मिनेटका ल संसद बैठक स्थगित गरेका हुन्।
आजै बजेट पारित गर्ने कार्यतालिका निर्धारण गरिएको छ। बैठक स्थगित भएसँगै बैठकको समयतालिका प्रभावित हुने निश्चित भएको छ।


