काठमाडौँः पछिल्ला तीन कारोबार दिनदेखि लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने झिनो अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेको छ।
नेप्सेमा सामान्य सुधार देखिएसँगै कारोबार रकम पनि केही बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेको छ भने कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.६६ प्रतिशतले घटेको छ।
त्यस्तै, कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
