काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्।
शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए।
उनले भने, ‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरू खारेज गरेँ। बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं। बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारको लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छौँ।’
वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए।
उनले भने, ‘नेपाल उद्योग परिसंघले भनेको २८ वटा कानुन परिमार्जन गर्न र उद्योग वाणिज्य संघले केही वर्ष अघि ४२ वटा कानुनको कुरा गरेको थियो। हाम्रो कानुनमन्त्रीले यति थोरै नि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन संशोधन प्रक्रिया अघि बढाउनुभएको छ। त्यसमध्ये पनि ५४ वटा क्याबिनेटबाट पास भइसकेको छ।’
अर्थमन्त्री वाग्लेले सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए।
उनले भने, ‘राज्यका अन्य अंगहरू पनि सुशासनको यही मर्म विजारोपण गर्दै फैलाउँदै लैजानुपर्ने छ। नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन तर मूल सफा भयो भने भने अरु कुरा पनि संग्लिन समय लाग्दैन।’
उनले आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको भन्दै नीति र संस्था कब्जा गरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको कूप्रवृत्तिलाई उखेल्न समय लागिरहेका पनि बताए।
उनले भने, ‘चुनौतीहरू पनि धेरै छन्। नीति र संस्था कब्जा गरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कूप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ।’
