काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनी महानुभावहरूको अटूट विश्वास र निरन्तर साथप्रति हार्दिक आभार व्यक्त गरे।
उनले ग्राहकवर्ग, सेयरधनी, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूको साथ र सहयोगकै कारण बैंकले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले गरे। साथै, ग्राहकहरूलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने जानकारी पनि उनले दिए।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। साधारण सभामा नियमनकारी निकायका प्रतिनिधिहरू, सेयरधनी तथा संस्थागत लगानीकर्ताहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
