काठमाडौँ: कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा सफारी चालकहरूलाई ज्याकेट हस्तान्तरण गरेका थिए।
दैनिक यात्रु ओसारपसारमा संलग्न सफारी चालकहरूको सुरक्षा तथा सहज पहिचानलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा भिजिबिलिटी ज्याकेटको प्रयोगले चालकलाई सडकमा स्पष्ट रूपमा देखिन सहयोग पुग्ने र दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा बैंकको छ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा इलाका प्रहरी कार्यालय उर्लाबारी र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैंकले समुदायको आवश्यकता पहिचान गरी सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि सुरक्षित, समावेशी तथा प्रविधिमैत्री समुदाय निर्माणमा योगदान पुग्ने कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ।
