काठमाडौँ: माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट सार्वजनिक गरेको छ।
बैंकले ग्राहकका नियमित बैंकिङसम्बन्धी जिज्ञासा डिजिटल माध्यमबाटै सम्बोधन गर्ने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याएको जनाएको छ। बैंकको आधिकारिक वेबसाइटमा च्याटबोटको आइकन राखिएको छ, जहाँबाट ग्राहकले आफ्ना जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्।
च्याटबोट अन्तरक्रियात्मक डिजिटल प्लेटफर्मका रूपमा विकास गरिएको बैंकले जनाएको छ। यसले सामान्य बैंकिङसम्बन्धी जानकारी लिन शाखामा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम गर्ने अपेक्षा बैंकको छ।
बैंकका अनुसार च्याटबोटको सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत दक्ष तथा ग्राहकअनुकूल बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यमा थप सहयोग पुग्नेछ।
ग्राहकका जिज्ञासालाई थप सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार र परिष्कृत गर्दै लैजाने बैंकले जनाएको छ। ग्राहकका सुझाव तथा प्रयोगबाट प्राप्त अनुभवका आधारमा यसको शुद्धता र उपयोगिता थप बढाउँदै लैजाने बैंकको भनाइ छ।
