काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन नदिने निर्णयसहित आशयपत्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको छ। पर्यटनमन्त्री सुदन किराँतीले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने निर्णय कार्यान्वयन गर्न नसकिने व्यहोरासहितको आशयपत्र पठाइएको प्राधिकरणले जनाएको छ।
मन्त्री किराँतीले निजी हवाई कम्पनी सिम्रिक एयरलाई काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं १४ राउत गाउँको माथिल्लो भाग इटापु डाडाँमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलीपोर्ट निर्माण गर्न दिने निर्णय गरेका थिए। जसका कारण मन्त्री किराँती र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच विवाद बढेको थियो। अधिकारीले सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्नका लागि अनुमति दिन नसकिने बताएपछि मन्त्री किरातीले मंगलबार महानिर्देशक अधिकारीलाई ९ बुँदै स्पष्टीकरण सोधेका थिए।
सामाजिक सञ्जाल र फेसबुकको भित्तामा फोस्ट गरिएको स्पष्टीकरणको जवाफ आफूले नदिने भन्दै अधिकारीले सार्वजनिक अभिव्यक्ति दिएका थिए। हवाई सुरक्षा जस्तो संवेदनशील विषयमा सोधिएको स्पष्टीकरण गोप्य हुनुपर्नेमा सामाजिक सञ्जालमा मार्फत सार्वजनिक गरेकाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको हवाई सुरक्षामा गम्भीर असर गरेको महानिर्देशक अधिकारीको ठहर छ। स्पष्टीकरणका दिनुको सट्टा मन्त्रीले गरेको निर्णय खारेज गर्ने उनले बताएका थिए।
प्राधिकरणले राष्ट्रिय हवाई नीति २०६३ को दफा ५.७ मा देशको आवश्यकता, भौगोलिक अवस्थिति, जनसंख्याको वितरण, क्षेत्रीय सन्तुलन, पर्यटन प्रवर्द्धन, अन्य विमानस्थलको निकटता, लागत प्रतिफलका सम्भावना समेतको मूल्यांकन गरी जनसहभागिता वा स्थानीय निकायको वा संयुक्त लगानीमा मात्र साना विमानस्थल र हेलिपोर्ट निर्माण गर्न सकिने व्यवस्था रहेकोसमेत मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरेको छ। मन्त्रालयले दिएको सैद्धान्तिक सहमति हवाई नीति विपरीत रहेको निष्कर्षसमेत प्राधिकरणले निकालेको छ।


