काठमाडौँ: राजधानीको बौद्धमा रहेको पाँचतारे हायात रिजेन्सी होटलको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। २०८२ भदौ २४ को जेनजी आन्दोलनमा होटल तोडफोड, आगजनी र क्यासिनोमा लुटपाट भएको थियो।
स्तरोन्नति र क्षमता विस्तारका लागि गत वर्षको भदौ अन्तिमदेखि होटल बन्द छ। स्तरोन्नतिको लागि तारागाउँ रिजेन्सी होटलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पुरक वातावरणीय प्रभावका लागि राय सुझावको लागि आह्वान गरेको छ।
प्रस्तावित होटलको वातावरणीय प्रभाव मूल्यांकन २०७८ चैत २३ मा तत्कालिन वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। प्रस्तावित होटलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार होटलको पूर्वाधारहरुमा २ भवन, १ फिटनेस ब्लक, ११ भिल्ला र २ वटा वटलर रहने भएका छन्।
होटलमा कुल ३०६ पाहुना कोठामा ४५० बेड, विभिन्न स्तरका पाहुना कोठाहरूसहित ब्यांक्वैट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ्ग पुल जस्ता सुविधाहरू पनि रहने उल्लेख छ। हाल होटलमा २८० कोठाहरु रहेका छन्।
होटेलको जग्गाको कुल क्षेत्रफल ७६ हजार ३१० वर्गमिटर र होटल भवनको तल्लाको कुल क्षेत्रफल ३९ हजार ८३२ वर्गमिटर रहने भएको छ।
होटल सञ्चालन चरणमा दैनिक ३ लाख ६० हजार लिटर पानीको प्रयोग हुने र सञ्चालन चरणमा दैनिक ४०० किलो लिटर स्वेज ट्रिटमेन्ट प्लान्टबाट तरल फोहोर व्यवस्थापन हुने होटलले जनाएको छ। आयोजनाको खुला क्षेत्रमा २०० वटा दुई पाँग्रे र २०० वटा चार पाँग्रे सवारी साधनको लागि पार्किङ्ग क्षेत्र रहने देखिन्छ।
मर्मत र स्तरोन्नतिमा हायात रिजेन्सीले थप तीन अर्ब रुपैयाँ लगानी गर्दैछ। यसमध्ये दुई अर्ब रुपैयाँ बैंकको ऋण र बाँकी एक अर्ब रुपैयाँ आफ्नो निक्षेपमा भएको रकम परिचालन गरेको छ।
तारागाउँ रिजेन्सी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनी हो। होटलको व्यवस्थापन ग्लोबल चेन हायात रिजेन्सीले गर्दै आएको छ।
भदौ २४ मा जलेको हायात होटल तीन अर्बमा पुनर्निर्माण हुँदै: ११ कोठा बढ्ने, १३ भिल्ला बन्ने
मर्मत र क्षमता विस्तारको काम सकिएपछि होटल आगामी माघदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको हायात रिजेन्सीले जनाएको छ। भिल्ला सञ्चालन जनवरी २०२८ देखि सुरु हुने अनुमान गरिएको छ।
होटलले पछिल्ला वर्षमा लगानीकर्तालाई राम्रो लाभांश दिँदै आएको थियो। हायात रिजेन्सीले गत आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट सेयरधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश दिएको थियो।
आर्थिक वर्ष २०८०/८१मा ११ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७९/८० मा पनि ११ प्रतिशत नगद र ४ प्रतिशत बोनश सेयर लाभांस दिएको थियो।
होटलको चुक्ता पुँजी एक अर्ब ९२ करोड २१ लाख रुपैयाँ छ। सञ्चित कोषमा ९२ करोड ७९ लाख रुपैयाँ छ।
तारागाउँ रिजेन्सी होटलको स्थापना सन् १९९० मा भएको हो। होटलमा सरार्फ र श्रेष्ठ परिवारको लगानी रहेको छ।
