चितवन–प्राकृतिक कारणले धेरै गैंडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा विगतको तुलनामा कम गैंडा मरेका छन्। यस वर्ष हालसम्म २२ वटा गैंडा मरेकामा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी सिकारीले मारेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्राकृतिक कारणले ४३ वटा गैंडा मरेका थिए। त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैंडाको संख्या त्यसभन्दा कम हुँदै आएको छ। आव २०७६/७७ मा २६, ०७७/७८ मा ३९ र ०७८/७९ मा ३५ वटा गैंडा प्राकृतिक कारणले मरेका छन्।
यस आवमा २०७२/७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैंडा मरेका हुन्। त्यस वर्ष १४ वटा गैंडा मरेका थिए। आव २०७३÷७४ मा २४ वटा गैंडा मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। चालू आवको माघमा दुई वटा गैंडा चोरी सिकारीले मारेका थिए । अन्य गैंडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए।
प्राकृतिक कारणले मरेका गैंडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकापसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन्। तिवारीले निकुञ्जभित्रको घाँसेमैदान र पानीको व्यवस्थापनका कारण गैंडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताए।
प्राकृतिक कारणले गैंडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो। सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैंडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ गैंडा रहेका छन्। विगतका वर्षमा चोरी सिकारबाट धेरै गैंडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो संख्यामा कमी आएको छ। आव २०७३/७४ मा एउटा, २०७७/७८ मा चार वटा र २०७८/७९ मा दुई वटा गैंडा चोरी सिकारीले मारेका थिए। सशस्त्र द्वन्द्वको समय एकै वर्ष चोरी सिकारीका कारण ३७ वटा गैंडा मरेका थिए।



