काठमाडौँ: सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र नयाँ सामान फेर्न लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको हो।
अक्टोबर २ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत नारायणघाट सर्भिस सेन्टर र पाकोस्थित ताम्राकार सर्भिस सेन्टरबाट विशेष मर्मत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। घरायसी विद्युतीय उपकरणका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको छ।
अभियानमा सामसङका स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायत छनोट गरिएका उपकरण समेटिएका छन्। सामानको उमेर र वारेन्टीको अवस्थाअनुसार मर्मत तथा नयाँ सामान फेर्न लाग्ने खर्चमा छुट दिइनेछ।
कम्पनीका अनुसार वारेन्टी अवधि बाँकी रहेका उपकरणमा शतप्रतिशत, एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशत र दुईदेखि पाँच वर्षभन्दा पुराना घरायसी उपकरणमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। मोबाइल फोन तथा ट्याब्लेटमा भने वारेन्टी अवधि बाँकी रहेका उपकरणमा शतप्रतिशत, एकदेखि दुई वर्ष पुरानामा ८० प्रतिशत र दुईदेखि चार वर्ष पुरानामा ७० प्रतिशतसम्म छुट दिइनेछ।
मर्मतका लागि आवश्यक नयाँ पार्टपुर्जा, ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुने अवस्था आएमा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विषयमा समेत विचार गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्रका साथै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका ग्राहकलाई लक्षित गरी अभियान ल्याइएको हो।
बाढीबाट क्षतिग्रस्त उपकरण पुनः सञ्चालनमा ल्याउन तथा नयाँ सामान खरिद गर्नुपर्ने आर्थिक भार कम गर्न अभियानले सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकले तोकिएका सर्भिस सेन्टरमा उपकरण लगेर जाँच तथा मर्मत सेवा लिन सक्नेछन्।


