काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा प्रतिबन्ध लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री–वितरणका लागि निश्चित स्थान निर्धारण गरेको हो। महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न पनि अनुरोध गरेको छ।
महानगरपालिकाका अनुसार प्लास्टिकजन्य तथा गुणस्तर मापदण्ड पूरा नगरेका फूल, माला र सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ।
महानगरपालिकाले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलंकी, माछापोखरी, महाराजगन्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोडलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ।
त्यसैगरी, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री–वितरणलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानबाटै कारोबार गर्न आग्रह गरेको छ।


