काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६ तालिम सञ्चालन गरेका छन्।
नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा सुरु भएको उक्त तालिम आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ। छ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना गरिएको छ।
कार्यक्रमअन्तर्गत हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा तालिम सञ्चालन भइरहेको छ।
तालिममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक सवारी प्रविधि र बीएस–६ (भारत स्टेज–६) प्रविधिसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिनेछ।
प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे जानकारी दिइनेछ। त्यस्तै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे पनि प्रशिक्षण दिइनेछ।
यसका साथै सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत एससीआर तथा एलएनटी प्रणालीको परिचय, तिनका विभिन्न पार्टपुर्जाको पहिचान र कार्यप्रणाली, सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोग गरी प्राविधिक समस्या पहिचान र समाधान गर्ने तरिकाबारे सिकाइनेछ।
तालिमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई नवीनतम सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
प्राविधिक जनशक्तिको क्षमता विकास, आधुनिक सवारी प्रविधिसम्बन्धी ज्ञानको विस्तार र गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।


