काठमाडौँः बुधबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेर बन्द भएको छ।
परिसूचकमा सामान्य सुधार देखिए पनि बजारमा लगानीकर्ताको सक्रियता भने बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
यस दिन ३५८ वटा स्टकको २ करोड १२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको हो।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि देखिएको हो।
यता, कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
समग्रमा बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि भए पनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ।


