काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ ।
नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो ।
सम्मेलनमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदाय सहआयोजकका रूपमा रहनेछन् ।
‘उत्थानशील भविष्यका लागि पूर्वाधार निर्माण’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।
सम्मेलनमार्फत सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उपलब्ध अवसर, कानुनी तथा नीतिगत सुधार र लगानीको वातावरणबारे जानकारी गराउनेछ । विशेषगरी पूर्वाधार क्षेत्रमा स्वदेशी लगानीकर्ताको सहभागिता बढाउने तथा विदेशी लगानी भित्र्याउने विषयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
दुई दिने सम्मेलनमा हालसम्म पहिचान गरिएका २३ सहित करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तामाझ प्रस्तुत गर्ने तयारी गरिएको छ । सम्मेलनको तयारीका क्रममा थप परियोजना पहिचान तथा छनोट गरिने आयोजकले जनाएको छ । पहिचान गरिएका परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै सम्भाव्य परियोजनामा लगानी सम्झौता गर्ने लक्ष्यसमेत राखिएको छ ।
सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित तीन प्रमुख विषयमा प्रस्तुति तथा छलफल हुनेछ । जसमा ६९ वटा विधेयकमार्फत कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधार खाकाको निर्माण तथा लगानीकर्ताले सामना गरिरहेका समस्या समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास रहेका छन् ।
राष्ट्रिय पूर्वाधार खाकाअन्तर्गत नेपालको विद्यमान पूर्वाधार अवस्था, प्रस्तावित योजना तथा आगामी १० वर्षको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरिनेछ । यसले मुलुकको पूर्वाधार विकासको प्राथमिकता निर्धारण तथा लगानीका सम्भावित क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ । प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिले आफ्नो कार्यक्षेत्रभित्र भएका नीतिगत तथा कानुनी सुधार, लगानीका सम्भावना र पहिचान गरिएका परियोजनाबारे जानकारी गराउनेछन् ।
सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका अवसर तथा परियोजना कार्यान्वयनमा देखिएका चुनौतीबारे साझा धारणा निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको छ । साथै लगानीकर्ताले भोग्दै आएका नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी समस्याको पहिचान गरी समाधानका उपाय खोजिने आयोजकको अपेक्षा छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनको अध्यक्षता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्नेछन् ।
पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलाई गति दिनुका साथै स्वदेशी तथा विदेशी लगानी परिचालन, परियोजनाको प्रभावकारी कार्यान्वयन र सरकार तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न सम्मेलन महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ ।


