काठमाडौं। लक्ष्मीपूजाका दिन मुलुकमा बिजुलीको माग १ हजार ८१३ मेगावाट पुगेको छ। आइतबार साँझ सवा ६ बजे बिजुलीको उक्त माग रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ बिजुली निर्यातसमेत भएको विद्युत प्राधिकरणले जनाएको छ। उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात भएको थियो।
प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो।
प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६. मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो।
प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन हुनु प्राधिकरणका लागि थप चुनौतीपूर्ण थियो।
प्राधिकरणको तथ्यांक अनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ७४५ मेगावाट पुगेको थियो। यस्तै २०८१ मा १ हजार ६०२ मेगावाट थियो।
यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो। त्यस्तै काठमाडौं उपत्यकाको विद्युत माग ४८९ मेगावाट पुगेको छ। गत वर्ष ४०२ मेगावाट रहेको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो।
सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताएका थिए।


