कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर आम्दानी गर्दै आएका हुन्।
परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उनले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाएका छन्। उनले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बिक्री गर्दै आएका छन्।
‘गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,’ रानाले भने, ‘बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ। अरू आम्दानीको स्रोत छैन, यसैबाट घरखर्च चलेको छ।’ उनले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आएका छन्।
गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएको रानाले बताए। ‘गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक दुई/दुई लाख आम्दानी हुन्छ’, रानाले भने, ‘२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु।’ उनले यस वर्ष प्याजको बेर्ना मात्रै २५ हजार रुपैयाँको बिक्री गरेको जानकारी दिए। यसबाहेक अन्य बन्दा, काउलीलगायत तरकारीको बेर्ना बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।
बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने बताउँदै उनले स्वदेशमा कृषि कर्मबाट पनि सहज जीविकोपार्जन गर्न सकिने सन्देश युवालाई दिएका छन्। ‘तरकारीको बेर्ना बिक्रीबाट घरखर्च चल्छ। प्रतिबोट दुईदेखि तीन रुपैयाँसम्म बिक्री गर्छु’, उनले भने, ‘बिक्रीका लागि समस्या छैन, गाउँघरमा किन्ने आउनुहुन्छ, बजार जानु पर्दैन।’
गहुँ र धानको बीउ गाउँमै बिक्री हुने गरेको रानाको भनाइ छ। ‘घर नजिकै उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्र छ, त्यहाँ गहुँ र धानको बीउ बिक्री गर्छु’, उनले भने, ‘मेरो कुनै रोजगारी छैन। खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु। छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ।’
उनको व्यवसायले गाउँमा तरकारी खेती गर्ने अन्य किसानलाई पनि सहज बनाएको छ। विभिन्न जातका तरकारीका बेर्ना गाउँमै उपलब्ध हुने भएपछि तरकारी खेती गर्ने किसानलाई सहज भएको छ।


