काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ।
यसअघिका एनपीएलका संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा जित निकालेको छ।


