काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ।
यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष पूजा गरी सप्तरङ्गी टीका र माला लगाई दीर्घायुको वरदान मागेको पौराणिक कथाअनुसार यसदिन उक्त दिनको सम्झनास्वरूप दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पवित्र सम्बन्ध जोड्न यो चाड मनाइने गरेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइँदैछ। समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम मोहडा फर्किएर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्किएर टीका लगाइदिनुपर्नेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका पर्व तथा पूजाका साइतअनुसार सर्वसाधारणले आ–आफ्नो परम्परा र धार्मिक विधिअनुसार पर्व मनाउन सक्नेछन्।


