बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन्।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन्। उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ।
नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको फूलखेतीबाट ११ क्विन्टल फूल उत्पादन गरी रु चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यवसायी असिम सिग्देलले जानकारी दिए। उनले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गरे।
फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यवसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए। उनले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए।
अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गरे। उनले यसपटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताए।
अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहिनेत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताए। उनले रु ४०० किलो फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाए।
बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ। जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन्।
उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ। पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ। फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए।


