बैतडी– सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ। सामुदायिक विद्यालयमा पछिल्लो समय शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो।हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा ३.६ भन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको संख्या न्यून छ। शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि ४२२ विद्यार्थीको मात्रै ३.६ भन्दा माथि जिपिए आएको जनाएको छ।
बैतडीमा ३.६ भन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए। उनले भने, ‘बैतडीबाट ५ हजार ३३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि ३.६ भन्दा माथि जिपिए आएको छैन। गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन।’
सुदूरपश्चिमका ९ जिल्लामध्ये एसइईमा ३.६ भन्दा माथि जिपिए ल्याउन नसक्ने बैतडी मात्रै रहेको हो। बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन्।
यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले ३.६ भन्दा माथि जिपिए ल्याएका छन्।माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो। निरन्तर रूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गए पनि स्थानीय तहले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन्।
स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए। अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ।
उनले भने, ‘स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ। गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो। स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ।’



