चितवन– वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्ष २०७९/८० मा ६ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो।
कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो।
पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ। केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए।
वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए। भरतपुर महानगर–२९ को बागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुईटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बतए।
यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ। वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए। उनका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुंगा सामुदायिक वन, कालिका–८ कै मंगलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धिगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थांखोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ।
पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयलले ३१ लाख खर्च गरेको छ। यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ। नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उनले बताए।
डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन्। यी वनमा सानाठूला वन्यजन्तु छन्। बाघ, गैंडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन्। चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङ सुक्खा याममा वनमा पानी अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताउँछन्।
चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ। दुई प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ। उनले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताए।



