पोखरा–गण्डकी प्रदेशमा यस वर्ष आवश्यक रासायनिक मल किसानले मागेजति पाउने भएका छन्। बर्सेनि धानखेती समय रासायनिक मल अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी पोखराले मल अभाव नहुने जानकारी दिएको हो।
कृषि सामग्री कम्पनी गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ। थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समय रासायनिक मल अभाव नहुने उनले बताए।
यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए। धान लगाउने समयमो छिटपुट पोटास अभाव देखिए पनि युरिया र डिएपी अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो।
‘तत्काललाई मलको समस्या देखिएको छैन। अब युरिया मल आवश्यक पर्ने समय आउँदै छ’, उपाध्यक्ष सापकोटाले भने, ‘युरिया स्टकमा छैन भनेको सुनेको छु। आधिकारिक सूचना आएको छैन तर अहिलेसम्मलाई समस्या छैन।’
गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए। यीमध्ये कास्कीमा एक हजार टन, डिएपी पाँच सय टन र पोटास पचास टन आवश्यक रहेको उनले बताए। चालू आर्थिक वर्षको अन्त्यसम्म कास्कीका लागि आवश्यकमध्ये युरिया ६ सय टन, डिएपी तीन सय टन र पोटास २१ टन आइसकेको छ।
सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले बताए। अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाको भनाइ छ। उनले भने, ‘सहकारी संस्था र कृषि सामग्री बिक्रेताको माग ठूलो छ। मागअनुुसार त दिन नसके पनि चित्त बुझाएको छु।’
मल अभाव हुन नदिन नातावाद र पहँुचका आधारमा नबाँडेर दामासाही ढंगले सहकारी संस्था र कृषि सामग्री विक्रेतालाई दिएको उनले सुनाए। गण्डकीमा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन्। जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएको छ।
कृषि सामग्री कम्पनीले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका सूचना अधिकारी गोपालजंग गुरुङले जानकारी दिए। गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताए।



