काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो समय डेंगुु संक्रमण बढेको विवरण सार्वजनिक गरेको छ। लगातार पानी पर्न थालेपछि डेंगुु संक्रमण उच्च भएको हो।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक सातायता संक्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ।
पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेंगुु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्दा डेंगु संक्रमण हुन्छ। एक साताबीचमा एक हजारभन्दा बढी डेंगुुका बिरामी भेटिएका छन्।
महाशाखाका अनुसार २७ असारमा १ हजार ३३७ संक्रमण भएकामा १ साउनसम्म आइपुग्दा संख्या बढेर २ हजार ९३० जनामा डेंगु संक्रमण देखिएको छ। यसपटक कोसी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोसी प्रदेशमा १ हजार ७४६, बागमती प्रदेशमा ४६८, सुदूरपश्चिममा २७९, गण्डकीमा २६९, लुम्बिनीमा १३४, कर्णालीमा १८ र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।
१० जिल्लामा बढी संक्रमण
नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा १ हजार पाँच सय ७१, धादिङ दुई सय ५६, दार्चुला एक सय ८८, कास्की एक सय ४९, संखुुवासभा ५८, काठमाडौँमा ४६, कञ्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेंगुुका बिरामी भेटिएका छन्।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगुु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ। सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलम प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।


