हेटौँडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि ६० वटा डोजर प्रयोग गरिने भएको छ। सर्वोच्च अदालतले तत्कालका लागि घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि सडक डिभिजन कार्यालय हेटौँडाले बजार क्षेत्रका घर भत्काउन ६० डोजर तयार गरेको हो।
कार्यालयका प्रमुख राजेश यादवले सर्वोच्चको आदेश आएको भएपनि सडक विस्तार कार्य नरोकिने बताए। ‘सडक विस्तारको तयारी अगाडि बढिसकेको छ,’ उनले भने, ‘हामी उपयुक्त समयको प्रतीक्षामा छौँ। हाम्रो काम रोकिन्न।’
यादवका अनुसार हेटौँडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेको छ। सोही फैसलाबमोजिम नै सडक विस्तार कार्य अघि बढ्ने उनको भनाइ छ। ‘सर्वोच्चको पछिल्लो अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गर्यो,’ उनको भनाइ छ, ‘सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित हुँदैन। साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ।’
तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गरिने र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाइने उनले उल्लेख गरे। सडक सीमा २५ मिटर कायम भएकाले उक्त सीमासम्म कायम गर्न आवश्यक ७ फिट जग्गा अधिग्रहणको प्रक्रिया पुरा गरी सडक विस्तार गरिने उनले बताए।
‘यो आन्तरिम आदेशले हेटौँडा बजारको विस्तार रोकिदैन। अल्पकालीन आदेश लिएका व्यक्तिको हकमा अदातलले छलफलका लागि जवाफ माग गरेको छ। १६ गते पेसी तोकिएको छ। सोहीअनुसार हामी छलफलमा सहभागी हुन्छौँ। छलफल चल्दै गर्छ, सडक विस्तार कार्य पनि जारी रहन्छ,’ उनले भने।
सडक विस्तारमा अल्पकालीन आदेश प्राप्त भएको घरहरुको हकमा सो घरको फैसलासम्म कुर्ने र अन्य घरहरुको हकमा कानुन र अदालतको आदेशअनुसार अघि बढ्ने उनले बताए।
हेटौँडा बजार क्षेत्रमा सडक विस्तार गर्दा बजार क्षेत्रका थुप्रै संरचना भत्काउँदा ठूलो धनको क्षति हुने भन्दै त्यहाँका निजी क्षेत्रले यसको विरोध गर्दै आएका छन्। राजनीतिक दलहरूले भने संरचना भत्काएरै भए पनि सडक विस्तार गर्नुपर्ने बताउँदै आएका छन्। यसले राजनीतिक र व्यापारिक समुदायबीच बेमेलको स्थिति सिर्जना भएको छ।
हेटौँडाको बजार क्षेत्रमा सडक विस्तार नगर्न सर्वोच्चको आदेश [पूर्णपाठ]


