विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई बुधबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। थापासँगै ३ जना मन्त्रीहरूले पनि शपथ लिएका छन्।
सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम पनि मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन्। गौतमले मंगलबार राजीनामा दिएर थापालाई मुख्यमन्त्री बनाउन समर्थनपत्रमा हस्ताक्षर गरेका थिए।
यसअघि सभामुख भएकै अवस्थामा थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेका गौतम यसपालि भने राजीनामा दिएर सांसदको हैसियतमा मात्र समर्थनपत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि उनले गरेको हस्ताक्षरलाई प्रदेश प्रमुखले मान्यता दिएपनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि थापा मुख्यमन्त्रिमा नियुक्त भएको २२ दिनमा नै पदच्यूत भएका थिए।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयले जिम्मेवारी पाएका छन्। एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार पाउँदा कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाए।
जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालय रोजेकी छन्। यद्यपि उनलाई भने शपथ दिलाइएको छैन।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए।


