काठमाडौँ– एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण फाइल राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करीका सम्पूर्ण फाइल नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको जानकारी दिएका हुन्।
सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले यसका लागि प्रहरीको थप छानबिन चाहिएकाले प्रहरीलाई हस्तान्तरण गरिएको उनको भनाइ छ। अब यो प्रकरणमा अभियोजनलागयतका बाँकी सबै काम प्रहरीले नै गर्ने छ।
विभागले हालसम्म पक्राउ गरेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाएको छ। यो प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन्।
साउन २ गते विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको मूल गेटमा बरामद गरेको ब्रेकसुमा झन्डै क्विन्टल सुन भएको बताएको थियो। पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन्।


