काठमाडौं– राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको अवैध सुन बरामद प्रकरणको थप छानबिन अगाडि बढाउन सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जिम्मा पाएका छन्।
त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको एक क्विन्टल सुन प्रकरणमा हालसम्म १८ जना समातिए पनि मुख्य कारोबारी पक्राउ पर्न सकेका छैनन्। राजस्व अनुसन्धान विभागले हिजो मात्रै हालसम्म भएका जाँचकी विवरण सीआईबीलाई सुम्पिइसकेको छ। ‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु भएको र आवश्यकताअनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुने प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।
आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो। विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताएका थिए।
थापा नेतृत्वको टोलीले गत २ साउनमा विमानस्थल भन्सार जाँचपास गराएर बाहिरिएको अवैध एक क्विन्टल सुनबारे थप छानबिन गर्नेछ। यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेकामा एक जनालाई हाजिर जमानीमा छाडिएका छन्।


