पोखरा- जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ पूर्जी जारी भएका संस्कृतिकर्मी, फोटो पत्रकार तथा कालगण्डकी बचाउ अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्धको किटानी जाहेरी फिर्ता लिन पर्वतका पत्रकार सहमत भएका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको रोहोबरमा गिरी र पर्वतका पत्रकारबीच सहमति भएको हो।
सहमतिअनुसार आरके अदिप्त गिरीविरुद्धको उजुरी बिहीबार फिर्ता लिने सहमति भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्दप्रसाद सुवेदीले बताए। गिरीविरुद्धको जाहेरी फिर्ता लिने सहमति भएको पत्रकार महासंघ गण्डकी प्रदेशले जानकारी दिएको छ।
पत्रकारविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा पर्वतका लेखक तथा अभियन्ता गिरीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरिएको थियो। गिरीविरुद्ध नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् निर्वतमान जिल्ला अध्यक्ष छविलाल तिवारी, जिल्ला शाखा अध्यक्ष सन्तोष थापा र पूर्वकार्यवहाक अध्यक्ष गणेश पौडेल लगायत सात जनाले गिरीविरुद्ध प्रहरीमा साइबर क्राइमको कसूर गरेको आरोपमा जाहेरी दर्ता गराएका थिए।
यसअघि नेपाल पत्रकार महासंघको केन्द्रीय समितिका सचिव पवन आचार्यले एक प्रेस विज्ञप्ति जारी गरेर पर्वतमा देखिएको समस्यालाई संवादका माध्यमबाट टुंगोमा पुर्याउन सम्बद्ध पक्षसँग आग्रह गरेका थिए।
कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भएको थियो। गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो।
फोटो पत्रकारसमेत रहेका अभियान्ता गिरीले पर्वतका पत्रकारमाथि पटक पटक टिप्पणी गर्दै आलोचनात्मक रुपमा फेसबुक मार्फत आफ्ना अभिव्यक्ति दिँदै आइरहेका थिए। पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै पर्वतका केही पत्रकारले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
पर्वतका पत्रकार र अभियन्ता गिरीबीच सौहार्दता कायम गर्न प्रहरीले प्रयास गरेको तर कुरा नमिलेपछि विषय किटानी जाहेरी र पक्राउ पुर्जीसम्म पुगेको भनाइ पर्वत प्रहरीको छ। अभियन्ता गिरीले केही वर्षदेखि कालीगण्डकी बचाउ अभियान, कुश्मा कला परियोजना चलाइरहेका छन्।


