धरान– धरान उपमहानगरपालिाका मेयर हर्क साम्पाङले खानेपानी क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउन शुरू गरेका छन्। देशभरका खानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजिज प्रालि र धरान खानेपानी बोर्डबीच अटोमेसनमा जाने सम्झौता भएको छ।
सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा व्यवस्थापन सफ्टवेयर वाटमार्क प्रयोग गरेर पूर्ण अटोमेसनमा लगिनेछ। उपभोक्ताले खानेपानीको महसुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङले यसअघि नै उद्घाटन गरिसकेका छन्।
मेयर साम्पाङले उपभोक्ताहरूलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेशनमा लैजाने बताए। बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महसुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने जानकारी दिए।
हालसम्म करिब ८ सय वटा खानेपानी समितिहरूलाई डिजिटलाइजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो। स्मार्ट वाटर प्रविधिको धरान खानेपानी बोर्डमा विस्तार गर्न सम्झौता गरिएको हो।
करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरू निर्माण गर्दै आएको छ। दियालोले मिटर रिडिङ्ग मोबाइल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संसाधन व्यवस्थापन प्रणाली, एनआरडब्लू : (पानी चुहावट विश्लेषण ) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधिजस्ता प्रणालीहरूको विकास गरेको छ।
यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा दियालो टेक्नोलोजिजको छ।


