काठमाडौं–मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले मौसम अदलीबदली भई केही स्थानमा ठूलो पानी पर्ने र केहीमा चट्याङसहितको मध्यम वर्षा हुने जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशमा मौसम अदलीबदली भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य पानी परिरहेको छ।
यतिबेला गण्डकी प्रदेशका अधिकांश स्थान, कोसी, बागमती र कर्णाली प्रदेशका केही ठाउँ र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही ठाउँ र बाँकी स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित ठूलो झरी पर्ने सम्भावना मौसमा पूर्वानुमान महाशाखाले औंल्याएको छ।
आज राती कोसी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


