काठमाडौँ- चितवन थातथलो भएर अमेरिका बस्दै आएका इन्जिनियर सूर्य लम्सालले झन्डै ४५ लाख रुपैयाँ दान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष लम्सालले नेपाली सांस्कृतिक भवन तथा दुर्गा मन्दिर निर्माणका उक्त रकम दान गरेका हुन्।
‘आफूले कबुल गरेको ३३ हजार ६६४ अमेरिकी डलर पूर्ण रूपले हस्तान्तरण गर्ने अवसर मिलेकोमा गर्वको महसुस गरेको छु,’ लम्सालले फेसबुकमा लेखेका छन्। रिजउड नेपाली समाज न्युयोर्कको आफ्नै भवन निर्माणका लागि प्राविधिक, सामाजिक तथा आर्थिक सहयोग गरेको उनले जानकारी दिए।
सामाजिक भवनलाई न्युयोर्कका नेपालीबीच एकापसमा आत्मीयता बढाउने र नेपाली कला तथा संस्कृति संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा सफलताका लागि उनले शुभकामना पनि व्यक्त गरेका छन्।
लम्सालको स्टाटस
चितवनको सूर्यनगरमा जन्मिएका लम्साल दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र (डीटीएनसीसी)का संस्थापक संरक्षक हुन्। लम्साल हाल अमेरिकाको न्युयोर्क राज्यको विद्युत प्राधिकरणमा निर्देशक छन्।
चितवन शिवनगर हाइस्कुलबाट एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट बिएस्सीसम्म अध्ययन गरेका उनले पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसबाट इन्जिनियरिङमा स्नातक समेत गरेका छन्। यसपछि अध्ययनका लागि अमेरिका पुगेका उनले न्युयोर्कबाट इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

श्रीमती र छोराका साथमा लम्साल।
सन् २००१ देखि २०११ सम्म न्युयोर्कको रिजउडस्थित औजनपार्कमा बसोबास गरेका लम्सालले न्युयोर्क युनिभर्सिटीबाट सहरी पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गर्दै छन्।
मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणका लागि उनले यसअघि नै ३० हजार ३६५ डलर सहयोग गर्ने घोषणा गरेका थिए। त्यसमा ३ हजार २ सय ९९ डलर थप गरी रकम हस्तान्तरण गरेका हुन्। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरअनुसार उक्त रकम ४४ लाख ७७ हजार ३ सय हुन आउँछ।
अध्यात्ममा पनि उतिकै लगाव राख्ने लम्साल, उनकी धर्मपत्नी डा सरोजा गौतम र छोरा शान लम्सालप्रति रिजउड नेपाली समाजले कृतज्ञता व्यक्त गरेको छ।
एनआरएनए विवाद राष्ट्रिय तहबाट मिल्ने सम्भावना रहेन, हामी अघि बढिसक्यौँ : सूर्य लम्साल [अन्तर्वार्ता]


