काठमाडौँ- हेलो सरकारमा अब एनसेल नम्बरबाट समेत निःशुल्क कल गर्न सकिने भएको छ। हेलो सरकारले सूचना जारी गर्दै अब नेपाल टेलिकमका मात्र नभएर एनसेलका पनि नम्बरबाट सित्तैमा कल गर्न सकिने जानकारी दिएको हो।
यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पनि थियो। उक्त समस्या पनि पूर्ण रूपमा समाधान भएको हेलो सरकारको भनाइ छ।
सरकारका कामबारे गुनासो गर्न परे फोन गर्दा पैसा नलाग्ने नम्बर ११११ मा गुनासो टिपाउन सकिने व्यवस्था गरिएको थियो। यो सेवा २४ घण्टा नै सञ्चालन हुँदै आएको छ।
हेलो सरकारले ट्विटर, ह्वाट्सएप, भाइबर, इमेललगायतका माध्यमबाट पनि गुनासो लिने गरेको छ।


