काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई शपथ दिलाएका हुन्।
सोमबार संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। उनलाई सोमबारै राष्ट्रपतिले नियुक्ति दिएका थिए।
संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीश रहेका श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो।
यसअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि उक्त पद रिक्त थियो।


