काठमाडौं– भाटभटेनी प्रालिका सञ्चालक मीनबहादुर गुरुङले ललिता निवास क्याम्पभित्रको जग्गा सरकारी भएको भन्ने कुरा आफुलाई जानकारी नभएको बयान दिएका छन् उनले भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको नाममा खरिद गर्दा सरकारी भएको आफूलाई थाहा नभएको बताएका हुन ।
उनले आफुले खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई राजश्व समेत बुझाइ आफ्नो नाममा ल्याएको बताएका हुन् । उनले भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’
उनले सरकारी जारी गरेको लालपुर्जा हेरेर डिल्लीबजार मालपोतबाट जग्गाधनीलाई रकम भुक्तानी गरी खरिद गरेको बताएका हुन । ‘ललितानिवास क्याम्पभित्रको सरकारी जग्गाहरु हाल साविक भएपश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा समेत खरिद गरेका थियौं । मैले र मेरो परिवारका सदस्यले जग्गा खरिद गर्दा सरकारले जारी गरेको लालपूर्जा हेरेर मालपोत कार्यालय, डिल्लीबजारमा मोठ, श्रेस्ता भिडाएर जग्गाधनीलाई रकम भुक्तानी गरी खरिद गरेका हौं ।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई १२ असारमा पक्राउ गरेको थियो ।


